ताजा खबर

वामदेव गौतम र विष्णु पौडेलबीच चार घण्टा छलफल

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच भेटवार्ता भएको छ । सोमबार बिहान नौ बजे गौतमलाई भेट्न पौडेल उनकै निवास पुगेका थिए । स्रोतका अनुसार उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भएको प्रतिक्रिया दिएका छन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, ‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो ।’ सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता