चीनबाट अर्को साता कोरोनाविरुद्धको खोप ल्याइने
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आगामी साता चीनबाट ल्याइँदैछ । नेपालले उक्त खोप लिन एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङबाट ल्याउन लागेको हो ।
खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट ल्याइने खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाउने तयारी भएको छ । ‘यसअघि ६० वर्ष माथिका उमेर समूहलाई लगायौं । अब त्यो भन्दा कम उमेर समूहतिर जान्छौं’ उनले भने ।
६० वर्ष माथिका कति व्यक्तिले अझै खोप लगाउन बाँकी रहेको भन्दै पहिलो प्राथमिकतामा ती उमेर समूहका मानिसहरू पर्ने उनको भनाई छ । तर यसअघि ६० वर्ष माथिका झन्डै १४ लाख मानिसले (कोभिसिल्ड) खोप लगाएका छन् । त्यसैले उनीहरूलाई दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने भएकाले पहिलो मात्रा लगाउनुपर्ने ६० वर्ष माथिका मानिस धेरै छैनन् ।
यद्यपि पहिलो डोजमा ‘कोभिसिल्ड’ खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज चीनबाट आउने ‘भेरोसेल’ खोप लगाउनु हुन्छ कि हुँदैन भनेर सोधेको भन्दै डा. गौतमले त्यसको दोस्रो मात्रा पनि ‘कोभिसिल्ड’ नै लगाउनुपर्ने वा सोही फर्मुलामा बनेको अर्को खोप लगाउनुपर्ने बताए ।
खोप पाउने दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका उमेर समूह हो। उनले ५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने बताए ।
यस्तै,अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत प्राथमिकताका आधारमा लगाइने गौतम बताउँछन् । यसअघि पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीहरूले खोपको माग गरेका थिए । उनीहरूले सरकारले खोप उपलब्ध नगराए सेवा नै ठप्प पार्ने समेत चेतावनी दिएका थिए ।
डा. गौतमले अब आउने खोप प्राथमिकतामा त्यस्ता जोखिमका क्षेत्रमा काम गर्ने कर्मचारीलाई राखिएको बताएका छन् । यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो। उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ।

