काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । स्वास्थ्य उपकरण खरिदलगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको छ । खरिदसम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाई छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउने र आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउने बताए । काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको उनको भनाइ छ ।