१८ कार्तिक २०८२, मंगलवार
Follow Us

मध्यरातमा केपी ओलीको वक्तव्य, के एमाले फुटाइदैछ ?

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७८, मंगलवार ०३:०८

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष र ओली पक्षबीच लामो समयदेखि विवाद छ । सरकारले एमाले र जसपा विभाजन गर्न प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

अध्यक्ष ओलीले नेकपा एमाले र नेपाल कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने गम्भीर षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ । ओलीले प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजित गर्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको हो ।

सोमबार सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेको थियो । चालू अधिवेशन अन्त्यसँगैं दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्बन्धमा सरकारमा छलफल भइरहेको बताइएको छ ।

सरकारले अध्यादेश ल्याउने तयारी गरेसँगै अध्यक्ष ओलीले नेकपा एमाले विभाजन गर्ने कुनै पनि बहाना र षडयन्त्र पार्टीका लागि क्षम्य नहुने बताउनुभयो ।

उहाँले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन आग्रह समेत गर्नुभयो ।

‘नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।’

धेरै पढिएको