२३ बैशाख २०८१, आईतवार
Follow Us

गठबन्धनमा खटपट, जसपा सरकारमा सहभागी नहुने

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७८, शुक्रबार १२:१८

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा फेरि खटपट देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय बाँडफाँडमा आफ्नो पार्टीलाई मात्रै राम्रो मन्त्रालय राखेको भन्दै गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् ।

प्रधानमन्त्री देउवाले डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको हो । अध्यक्ष यादवले पछिल्लो गठबन्धनको बैठकमा समेत यस्तो काम भए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी समेत दिइसकेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री देउवाले यसअघि नै सरकारलाई पूर्णता दिनेगरि गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीको नाम मागेका थिए । तर, माधव नेपाल र उपेन्द्र यादवले नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताइन्छ ।

जसपा अध्यक्ष यादव आँफै सरकारमा सहभागी हुन चाहेको र यसअघि परराष्ट्र मन्त्रालय मागेका थिए । प्रधानमन्त्री देउवाले उक्त मन्त्रालयको जिम्मा आफ्नै पार्टीका नेता खड्कालाई दिएपछि यादव रुष्ट बनेका हुन् । अहिलेसम्म कांग्रेसबाट चार र माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री सरकारमा सहभागी छन् । प्रधानमन्त्री देउवाले दुई महिना वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णत दिन सकेका छैनन् ।