१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

‘ग्यालेक्सी फोके’ टेलिभिजनको प्रशारण सुरु

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७८, शनिबार ०५:५३

काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजनको प्रसारण सुरु भएको छ । गोर्खा मिडिया नेटवर्कअन्तर्गत ग्यालेक्सी फोके टेलिभिजनको औपचारिक प्रसारण आज सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा एक समारोहबीच टेलिभिजनको शुभारम्भ गरेका छन् । मनोरञ्जन, समाचार एवं सामयिक विश्लेषणको नयाँ यात्राका रुपमा ग्यालेक्सी फोके सुरु भएको हो । प्रधानमन्त्री देउवाले सरकार सञ्चार माध्यमको स्वतन्त्रताको पक्षमा रहेको भन्दै ग्यालेक्सी फोकेले निर्भिकरुपमा समाचार प्रसारण गर्ने विश्वास व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ग्यालेक्सी फोके राष्ट्रिय एकता र समृद्धिको सम्बाहक बन्ने विश्वास व्यक्त गरे । यस्तै, जनता समजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि टेलिभिजनलाई सफलताको शुभकामना दिए ।

आम नागरिकका तर्फबाट सुरेन्द्र दनुवारले ग्यालेक्सी फोकेलाई सीमान्तकृत वर्गका आवाज मुखरित गर्न आग्रह गरे ।

कार्यक्रममा टेलिभिजनका अध्यक्ष जिबी राईले उच्चतम प्रविधि र दक्ष जनशक्तिको बलमा नागरिकलाई सही सूचना र मर्यादित मनोरञ्जन दिन स्पष्ट सोच र योजनासहित टेलिभिजन सुरु गरेको बताए । व्यावसायिक मर्यादाभित्र रहेर पत्रकारिता गर्नुवाहेक टेलिभिजनको अर्को कुनै स्वार्थ नरहेको भन्दै उनले कुनै स्वार्थ समूहको एजेन्डा स्थापित गर्न प्रयोग नहुने पनि स्पष्ट पारे ।

टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेले जनताको पक्षमा शासकलाई निरन्तर खबरदारी गर्ने र दर्शकले व्यक्त गर्ने प्रतिक्रियाका आधारमा परिमार्जित र परिस्कृत हुने बताएका छन् । उनले सत्तासँग कुनै आग्रह–पूर्वाग्रह नराखि नागरिकका गुनासो र प्रश्न निर्भिक भएर सत्तालाई सोध्ने र सीमान्तकृत वर्गको निरन्तर पक्षपोषण गर्ने स्पष्ट पारे ।

पछिल्ला उच्चतम् प्रविधिको प्रयोग, देशभर विस्तारित सञ्जाल, चर्चित रियालिटी शो र समाचारको फरक प्रस्तुति टेलिभिजनका विशेषता हुन् ।

शुक्रबार र शनिबार राति नौ बजे रियालिटी शो सारे गाम प लिटल च्याम्पस् नेपाल, शनिबार साँझ सात बजे रामायण, आइतबार मंगलबार र बिहीबार राति ९ बजे सिधा कुरा तथा बुधबार राति ९ बजे लालमोहर प्रसारण हुनेछन् । को बन्छ करोडपति, क्राइम पेट्रोल र ९ बजे पनि शीघ्र प्रसारणको तयारीमा छन् ।