काठमाडौँ । आफूलाई प्रहरी भएको परिचय दिँदै एक व्यक्तिलाई हतकडी लगाएर नगद, मोबाइल र बैंकका चेक लुट्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौँको धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, काठमाडौँको टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौँको गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीका अनुसार सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल वनस्थलीमा डेरा गरी बस्ने शेरबहादुर मोक्तानको कोठामा उनका चिनजानका साथी सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोक निवासी ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका थिए।
उक्त क्रममा ६ जनाको समूहमा आएका व्यक्तिहरूले आफूहरू प्रहरी भएको भन्दै धनबहादुरलाई नियन्त्रणमा लिई हतकडी लगाएका थिए। त्यसपछि डर, त्रास र धम्की देखाएर उनीसँग रहेको नगद १० लाख ९५ हजार रुपैयाँ, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएका थिए।
घटनापछि फरार व्यक्तिहरूको खोजतलास गर्ने क्रममा प्रहरीले असार १४ गते काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।
उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।