३२ असार २०८२, बुधबार
Follow Us

मधेशलाई रिझाउन नसके आगमी निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा : नेता निधि

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७८, सोमबार १५:२१

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए ।

कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।’

मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए ।

पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेशको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस्, हामी सहयोग गर्छौं भनेर आश्वासन पाएको छु । र मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’ पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको नेता निधिले बताए ।
पार्टीको महाधिवेशनमा सत्ताको दुरूप्रयोग नहुनेमा आफू विश्वस्त रहेको नेता निधिले बताए ।

धेरै पढिएको