२५ बैशाख २०८१, मंगलवार
Follow Us

मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कार

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७८, शुक्रबार १५:५१

सप्तरी । पत्रकार मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । दिलीप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोसी नगरपालिकाको गंगाजलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई ११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो ।

नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चौधरी विगत डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय छन् ।

कार्यक्रममा सप्तरीबाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारद्वय नवीन गुप्ता र बृजमान तामाङलाई पनि सोही पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सप्तरीको फत्तेपुरमा जन्मिएका दिलीप चौधरी २०४२ सालमा देशव्यापी रूपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई काठमाडौंको ल क्याम्पसबाट हिरासतमा लिइएको थियो । लगत्तै उनको हत्या गरिएको थियो ।