२६ श्रावण २०८२, सोमबार
Follow Us

पर्यटनमन्त्री बेलायतमा : निगमको प्रतिबन्ध फुकुवा गर्न आग्रह

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७८, बिहीबार ००:५५

लन्डन । लन्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री आलेले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई लगाएको प्रतिबन्ध फुकुवा गर्न बेलायती सरकारले पहल गर्नुपर्ने आग्रह गरेका थिए । सन् २०१३ मा युरोपेली संघले नेपाल वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएको थियो ।

‘पर्यटनमन्त्रीले हाउस अफ लर्ड्सकी सांसद्‍ वर्मासँगको भेटमा नेपालले पछिल्लोपटक नागरिक उड्डयनका क्षेत्रमा धेरै नै सुधार गरिसकेकाले यस विषयमा बेलायतका तर्फबाट पनि पहल गरिदिन अनुरोध गर्नुभयो,’ पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक लक्ष्मण गौतमले बताए ।

पर्यटनमन्त्री आलेले नेपाल मामिलाबारे जानकार बेलायती सांसद वर्मालाई पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन नेपालको संसद्‍मा कानुनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी गराएका थिए । साथै, अर्न्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले औंल्याएका धेरै मुद्दामा सुधार गरिरहेको जानकारी समेत गराएका थिए ।

हाउस अफ लर्ड्समै भएको भेटमा मन्त्री आलेले वर्मालाई नीजगढ विमानस्थल निर्माणमा बेलायती लगानीकर्ता जुटाइदिन पनि आग्रह गरेका थिए । लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा भाग लिन मन्त्री आलेसहितको सरकारी टोली आइतबार बेलायत गएको थियो । गएका थिए । आले शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।

धेरै पढिएको