१५ बैशाख २०८१, शनिबार
Follow Us

विदेशी लगानी बढ्यो

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७८, सोमबार ०५:१९

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ३ अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको भदौसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानी करिब साढे २४ प्रतिशत बढेको हो । गत साउनमा भने विदेशी लगानी करिब साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यतिबेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको छ । कोभिडको जोखिम कम बने पनि गत साउनमा विदेशी लगानी घटेको थियो । तर अपेक्षाविपरीत दोस्रो महिनामा विदेशी लगानी २४.६ प्रतिशत बढेको हो ।

गत भदौसम्म ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी २ अर्ब ४४ करोड रुपैयाँ थियो । उक्त अवधिमा नयाँ लगानी नभई पहिल्यै स्वीकृत रकम आएको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको भनाइ छ ।

‘केही महिनायता नयाँ लगानी आए जस्तो लाग्दैन, पहिल्यै स्वीकृत लगानी आएको हुन सक्छ,’ उनले भने । आर्थिक वर्षको दोस्रो महिनामा बढेको विदेशी लगानीकै आधारमा वर्षभर अनुमान गर्न अप्ठ्यारो हुने उनले बताए । मुलुकमा राजनीतिकलगायत सबै वातावरणमा सुधार आउन सके विदेशी लगानी पनि बढ्ने उनको अनुमान छ ।

पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह (फ्लो) हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको देखिन्छ ।

नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ । उक्त अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको देखिन्छ । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ ।

भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५/७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो । आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत विदेशी लगानी छ । यस्तै अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०.२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरिएको थियो ।

पछिल्ला महिनामा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएकाले चालु आर्थिक वर्षमा पनि विदेशी लगानी बढ्ने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको उनीहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको दाबी छ ।

आर्थिक वर्ष २०७६/७७ का सबै महिनामा विदेशी लगानी उच्च दरले बढेको थियो । तर गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । असोजदेखि गत जेठसम्म घटिरहेको विदेशी लगानी अन्तिम महिनामा झिनो सुधार भएको थियो ।

गत आर्थिक वर्षको असोजमा विदेशी लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५, वैशाखमा १९.२, जेठमा १३.४ र असारमा ०.२ प्रतिशत घटेको थियो ।