१५ बैशाख २०८१, शनिबार
Follow Us

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा ५९, विपक्षमा ४३

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७८, सोमबार १२:०५

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा सोमबार भएको मतदानमा पाण्डेले विश्वासको मत पाएका हुन् । विश्वासको मतको पक्षमा ५९ मत, विपक्षमा ४३ मत र २ सांसद तटस्थ रहे ।

प्रदेश सभामा हाल कायम सदस्य संख्या १०९ रहेकोमा १०४ जनाको उपस्थिति थियो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पक्षमा मतदान गरे भने प्रमुख विपक्षी नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मतदान गरेका छन् । नेमकिपा तटस्थ रह्यो ।

कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने थियो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री भएका थिए ।

विश्वासको मत माग्दै प्रदेश सभामा सम्बोधन गर्नुभएका मुख्यमन्त्री पाण्डेले आफ्नो सरकारले आर्थिक अनुशासन कायम गर्ने, फजुल खर्च घटाउने र जायज खर्च मात्रै गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्त्रालय थप गर्नेबारे अहिले नै सोच नबनाएको बताउँदै संविधानअनुसार नै गर्ने उल्लेख गरे ।