२७ बैशाख २०८१, बिहीबार
Follow Us

सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७८, बुधबार ०४:०७

काठमाडौं । सर्वोच्च अदालत नियमावली संशोधन गर्नका लागि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार भएको छ । न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना, हरि फुयाल र नहकुल सुवेदी सम्मिलित कार्यदलले गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार तयार गरेको हो।

यो कार्यविधि अनुमोदनका लागि आज फुलकोर्टको बैठक बोलाउने तयारी भएको छ । यो कार्यविधि पास भएपछि दशकौँदेखि प्रधानन्यायाधीशले इजलास तोक्ने परम्पराको अन्त्य हुनेछ भने न्यायाधीशहरु स्वयंले गोला झिकेर इजलासमा बस्न पाउनेछन् ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनअनुसार पेसी अटोमेसनमा जानेगरी कार्यविधि बनाइएको हो । तर, प्रधानन्यायाधीश जबरासँग बेन्च शेयर गर्ने कि नगर्ने भन्ने विषयमा भने केही खुलाइएको छैन ।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दा हेरेका छैनन् । तर हिजो नेपाल बार र सर्वोच्च बारसँगको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्ने विषयमा भने आफूहरु पूर्ववत् अडानमा कायमै रहेको उनीहरुको भनाइ थियो । प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिदिनुपर्ने माग गर्दै सर्वोच्चमा दिनहुँ तनावको अवस्था सिर्जना हुँदै आएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ ।