२२ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस महाधिवेशन : प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७८, आईतवार ०५:५९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निवाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍याे । समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न सकेन ।

‘यो प्रविधिकै जमाना हो । हामीले प्रविधिको प्रयोग गर्दा छिटो छरितो र त्रुटीहरू कम हुन्थ्यो । त्यसैले ईलेक्ट्रोनिक सिष्टमबाट भोटिङ गरौँ भनेर केन्द्रीय कमिटीमा प्रस्ताव पेस गरेका थियौँ । नेताज्यूहरू र उमेद्‌वारहरूबीच सहमति जट्न सकेन’, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने ।

ईलेक्ट्रोनिक प्रविधिबाट मतदान हुँदा प्रविधि नै ह्याक गरेर आफ्नो नामको मत बदर पनि हुन सक्ने डर नेता तथा उमेद्‌वारहरूले देखाए । त्यसैले अहिले पुरानै प्रणालीबाट मतदान हुुँदै छ ।

निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको घिमिरे बताउँछन् । मत पेटिकाका लागि भने कांग्रेसले सूर्यदया कम्पनीको पानी ट्याङ्की प्रयोग गर्दै छ ।

‘अहिले २९ वटा मतपत्र तयार भएको छ । तर, उम्मेद्‌वारी फिर्ता लिने समय बाँकी नै छ । भोलिसम्ममा मतपत्र घट्न पनि सक्छ’, घिमिरे भन्छन् ।

अहिले १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान हुँदा एक जनालाई मतदान गर्न कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ ।

अहिले कांग्रेसमा मतदान गर्नका लागि देशभरबाट चार हजार भन्दा बढि महाधिवेशन प्रतिनिधीहरु सहभागी छन् । ईलेक्ट्रोनिक प्रणालीबाट मतदान भएको भए छिटो महदान हुन्थ्यो भने मत गणनाका लागि पनि धेरै समय लाग्दैनथ्यो । यस्तै, मत बदरको सम्भावना पनि हुँदैनथ्यो ।

तर, कांग्रेसका नेताहरूले प्रविधिको प्रयोग गर्न डराएर पुरानै मतदान प्रक्रिया अपनाउँदा मत बदरको सम्भावना पनि उच्च देखिन्छ भने मतदान र मतगणनाका लागि धेरै समय लाग्छ । नेताहरूले प्रविधिको प्रयोग गर्न नमानेका कारणले निर्वाचन समिति पनि खुसी छैन ।

‘पार्टी भित्रको चुनाव हो । पार्टीका नेताहरूले नचाहेपछि हामीले मात्रै चाहेर हुँदैन । प्रविधिकाे प्रयोग गरेजस्तो सहज हुँदैन अहिले अपनाइएको प्रक्रिया । तर, सहमति नजुटेपछि के गर्नु ?’, संयोजक घिमिरे भन्छन् ।

आइबार बिहान ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ भने मध्यान्ह सवा १२ उम्मेद्‌वारकाे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन भने भोलि साेमबार बिहान ८ बजेदेखि सुरू हुनेछ । मतदानका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लवमा गरी तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।