२२ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति अमेरिकाको विवाद उच्च अदालत पाटनमा

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७८, सोमबार ०१:२४

काठमाडौँ । उच्च अदालत पाटनले प्रधानमन्त्री एवं नेपाल कांग्रेका सभापति शेरबहादुर देउवाले लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ । जनसम्पर्क समिति अमेरिकामा महाधिवेशन प्रतिनिधि छनौट अवैधानिक भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो ।

रिट निवेदनमा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस केन्द्रीय कार्यलय, कांग्रेस निर्वाचन समिति,नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई विपक्षी बनाइएको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीमण कुमार गौतमको एकल इजलासले प्रतिनिधि छनौट प्रक्रिया कसरी बैधानिक हो भन्नेबारे लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले जनसम्पर्क समितिबाट छनौट गरिएका प्रतिनिधि खारेजीको माग गर्दै बिहीबार मुद्दा दर्ता गराएका थिए ।