२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा विजयी

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७८, मंगलवार २०:३३

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणना बुधबार बिहान २ बजे सकिएको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए ।

सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाउनुभएको थियो । उहाँले २२५८, निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सभापति प्रत्यासी शेखर बाहेक प्रकाशमान, विमलेन्द्र र कल्याणले समर्थन गरेपछि देउवालाई जीतका लागि सहज भएको थियो ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा पार्टी सभापति हुनुभएको थियो ।