२१ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्र आठौँ महाधिवेशन आज देखि

नेपालब्रिटेन डट कम्
११ पुष २०७८, आईतवार ००:३१

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुनेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो । महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । तर, राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्ने निर्णय भएकाले उद्घाटन समय भने केही ढिलो हुने उनले बताए । अकस्मात् महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना सम्भव नभए पनि अन्य राजनीतिक दललाई भने आमन्त्रण गरिने नेता शाक्यले बताए । यसअघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो ।

‘राष्ट्रिय सम्मेलन भनिएकोमा अब यसलाई आठौँ महाधिवेशनका रूपमा अघि बढाउने निर्णय भएको छ । सबै प्रक्रिया पूरा गरिसकेको, निर्वाचन ऐन र कानुनअनुसार महाधिवेशन पनि गर्नुपर्ने भएको हुँदा यसैलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको छ,’ संयोजक शाक्यले भने, ‘शनिबारको स्थायी कमिटीले यसलाई केन्द्रीय कमिटीमा लैजाने भनेको छ । आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले अन्तिम टुंगो लगाउनेछ ।’

माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गरेको छ । ‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान–बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ ।’

उनले हरेक दिनको खाजाको मेनु फरक–फरक हुने र त्यसमा मासु, चिउरा, पनिरलगायतका परिकार राखिएको बताए । तीन दिनका लागि भनिए पनि महाधिवेशन लम्बिन सक्ने भन्दै १५ पुससम्मका लागि हल र क्याट्रिनको बुक गरिएको छ ।

सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हुँद प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ । जिल्ला समन्वय सम्पर्क कमिटीको सहयोगमा प्रदेश कमिटीले यसको संयोजन गर्न निर्देशन भइसकेको उनले बताए । त्यसमा कसैलाई अप्ठेरो परेको अवस्थामा भने महाधिवेशन आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ । शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए । उक्त गाडीमा ल्याबसहितको उपचार सेवा हुनेछ ।

साथै महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्थापन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीका अनुसार सुरक्षाका लागि ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । साथै बाटो र कार्यक्रमस्थल आसपासमा सिसिटिभीसहितको सुरक्षा व्यवस्थापन गरिएको मैनालीले बताए । उनले माओवादी केन्द्रको महाधिवेशनको सुरक्षाका लागि करिब पाँच हजारभन्दा बढी सुरक्षाकर्मीलाई परिचालन गरिने जानकारी दिए ।

आइतबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू राजधानी आइपुग्ने क्रम जारी छ । माओवादी केन्द्रले विभिन्न कमिटीबाट सहभागी हुने प्रतिनिधिको संख्या यसअघि नै टुंग्याइसकेको छ । जसमा सम्मेलन आयोजक समितिका एक सय ७९, सल्लाहकार समितिका एक सय ४९, ज्येष्ठ कम्युनिस्ट समितिका एक सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट एक सय दुईजना र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् ।

त्यस्तै, प्रदेशहरूबाट आठ सय तीनजना छनोट भएर आउनेछन् । प्रदेश १ बाट ९६, प्रदेश २ बाट एक सय ६, बागमतीबाट एक सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट एक सय पाँच, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना सहभागी हुनेछन् । यसरी नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्ष प्रचण्डले गरेपछि  थप एक सय ४८ जना प्रतिनिधि महाधिवेशनमा उपस्थित हुनेछन् ।

अध्यक्ष प्रचण्डले मनोनय गर्ने दश प्रतिशतको भने अझै टुंगो लागिसकेको छैन । यसअघि मनोनय गरिने प्रतिनिधिको संख्या पाँच प्रतिशतलाई बढाएर स्थायी कमिटीले दश प्रतिशित पु¥याएको छ । मनोनयनबाट आउने प्रतिनिधिको संख्या बढेसँगै प्रतिनिधिको संख्या बढेर १६ सय आठ हुने भएको छ ।

बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक र संगठनात्मक प्रतिवेदन र देव गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रमा २५ वटा समूह बनाएर छलफल हुनेछ । सबै समूहलाई छलफलका लागि कमलादीमा स्थान अभाव भए केन्द्रीय कार्यालय पेरिसडाँडामा व्यवस्था गर्ने माओवादीको तयारी छ । प्रदेशअनुसार समूहगत छलफल हुने र प्रदेश प्रतिनिधिको संख्या धेरै भएको हकमा विभाजन गरेर समूह बनाइने भएको छ । दस्ताबेज र प्रस्तावमाथिको छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । नेतृत्व चयनअन्तर्गत पहिले केन्द्रीय समितिको सूची प्रस्ताव हुनेछ भने त्यसपछि पदाधिकारीको विषय टुंगिनेछ ।