पोखरा । लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित तथा कविशिरोमणिका परिवारजनद्वारा स्थापित लेखनाथ साहित्य पुरस्कार–२०७७ बाट सरुभक्तलाई र २०७८ बाट रमेश खकुरेललाई सम्मान गरिने भएको छ । कविशिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका परिवारजनद्वारा स्थापित सो पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र छ ।
प्रतिष्ठान सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा. शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरूलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको जन्म पोखरा–१, बागबजारमा २०१२ सालमा भएको हो । उनका कविता, मुक्तक, गीत, गजल, कथा, उपन्यास गरी तीन दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । उनी पागलबस्ती उपन्यासमार्फत २०४८ सालको मदन पुरस्कारबाट पुरस्कृत भइसकेका हुन् ।
यस्तै, काठमाडौं गणवहालमा १९९९ सालमा जन्मिएका खकुरेलका कविता, काव्य, खण्डकाव्य, महाकाव्य, यात्रा काव्य गरी डेढ दर्जन कृति प्रकाशित भइसकेका छन् । शास्त्रीय छन्दमा विशेष योगदान दिइरहेका खकुरेलले पनि थुप्रै पुरस्कार प्राप्त गरिसकेका छन् ।