७ जेष्ठ २०८१, सोमबार
Follow Us

पोर्चुगल पठाइदिने प्रलोभनमा ४० लाख ठगी

नेपालब्रिटेन डट कम्
२२ पुष २०७८, बिहीबार ०५:५३

काठमाडौँ — पोर्चुगल पठाइदिने प्रलोभनमा ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित ‘यूनिवर्ल्ड इन्टरनेसनल टुर एण्ड ट्राभल्स प्रालि’का सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक बाग्लुङ गल्कोट नगरपालिका–६ घरभई मैतीदेवी बस्ने २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही वाग्मती नगरपालिका–१ घरभई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी २४ वर्षीय समिर कार्की छन् ।

उनीहरुले वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख रुपैयाँ भन्दाबढी कमाइ हुने होटल तथा कम्पनीमा काममा लगाइदिने प्रलोभनमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले ४ जना पीडितहरुबाट प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।