७ जेष्ठ २०८१, सोमबार
Follow Us

थप आधा दर्जन जिल्लाका सिडिओ फेरिए

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७८, शनिबार १२:५६

काठमाडौँ । गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ ।

यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर पठाइएका पौडेल पुनः गृह भित्र्याएर सिडिओमा खटाउनुलाई गृह वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यसैगरी मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई काभ्रे प्रजिअको जिम्मेवारी दिइएको छ भने काभ्रेका शिवराम पोखरेललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले सल्यानका प्रजिअ लक्ष्मी देवी होमागाई खतिवडालाई मन्त्रालय सरुवा गरेर त्यहाँ सहसचिव विपिन आचार्यलाई खटाईको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई मन्त्रालय झिकाउँदै उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रजिअको जिम्मेवारी दिई पठाइएको छ । त्यस्तै सहसचिव सुमन घिमिरेलाई नवलपरासी(पूर्व)को प्रजिअ बनाई पठाइएको छ । त्यहाँकी मनमाया पङ्गेनी भट्टराई केही दिन अघि झिकेर गण्डकी प्रदेश पठाइएको थियो । बुधवार मात्रै मन्त्रालयले ९ जिल्लाका प्रजिअको हेरफेर गरेको थियो ।