३० बैशाख २०८१, आईतवार
Follow Us

बेलायत आउन उत्साहित नहुन नेप्लिज नर्सिङ एसोसिएसन यूकेको आग्रह

नेपालब्रिटेन डट कम्
१० माघ २०७८, सोमबार ०८:१३

लण्डन । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भई नर्सहरु बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझ एक वर्ष लाग्ने भएको छ ।

बेलायतमा रहेका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार एक भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो ।

एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) संग गरेको छलफलमा मन्त्रालयका अधिकारीहरुले सो सुझाव दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसित हालै भएको छलफलमा उनीहरुले नेपाल सरकारसंगको पहिलो छलफल सकारात्मक भएको र नेपालबाट नर्स ल्याउन एक वर्ष लाग्न सक्ने बताएको जानकारी दिइन् ।

एनएनए युकेकी महासचिव बिनु लामिछानेले एउटा नर्सलाई बेलायत ल्याउँदा करिब ४ हजार पाउण्ड खर्च लाग्न सक्ने तर सबै पैसा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) वा त्यसमार्फतको एजेन्सीले तिर्ने तर नेपालका नर्सहरुले एक पैसा तिर्न नपर्ने उनले बताइन् ।

एनएनए युकेका पूर्व अध्यक्ष वासु लामिछानेले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई बेलायतमा दर्ताका लागि बेग्लै व्यवस्था नभएको प्रष्ट पारे ।

उनले बेलायतले बिरामीहरुको सेवामा स्तर कायम गर्न अंग्रेजी भाषाको मापदण्ड बनाएको र नेपालबाट आउनेका लागि मात्र अंग्रेजी भाषाको स्तर घटाउने सम्भावना नभएका बताए ।
अध्यक्ष गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई धेरै नहौसिन, नआत्तिन र खाइपाइ आएको जागिर अहिल्यै नछोड्न भनेको उद्धृत गर्दै इच्छुक नेपाली नर्सहरुलाई त्यहीअनुसार गर्न सल्लाह दिइन् ।

उनले प्रशस्त जागिर भएकाले नआत्तिन, धैर्य गरी अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र बेलायत आउन उनले आग्रह गरिन् ।

नेपालका मिडियाहरुमा बेलायतमा नर्सहरुले पाउने तलबका बारेमा बढाइचढाइ गरिएकोमा अध्यक्ष गौतमले बेलायतमा नर्सहरुको शुरुवाती तलब वार्षिक करिब २५ हजाउ पाउण्ड रहेको र लण्डन लगायतका क्षेत्रमा भत्तावापत २० प्रतिशतसम्म अतिरिक्त रकम दिइने पनि गौतमले प्रष्ट पारिन् ।

बेलायतमा कार्यरत अर्का नर्स राजेन्द्र पुडासैनीले पनि नेपाली नर्सहरुलाई जागिर नछाड्न, धेरै उत्साहित नहुन र बेलायत आउनका लागि कसैलाई पैसा नतिर्न सचेत हुुन आग्रह गरे ।
एनएनए युकेकै ईन्दिरा बस्यालले एनएनए युकेले बेलायतमा कार्यरत नेपाली नर्सहरुको हितका लागि विभिन्न कार्यक्रम गरिँदै गरेको जानकारी दिइन् ।

नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष मन राईले नेपालबाट बेलायत नर्स लैजाने बारेमा नेपाल सरकारले आफूहरुसित आधिकारिक रुपमा छलफल नगरेको बताइन् ।

नेपालको मोडल नर्सिङ कलेजकी प्रिन्सिपल सुमिता पाठकले राज्यकै प्रत्यक्ष संलग्नतामा विदेशमा नर्सहरु पठाउँदा नेपालको नर्सिङ क्षेत्रमा भविष्यमा पर्ने असरका बारेमा ध्यान दिनुपर्ने बताइन् ।