७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७८, बिहीबार १४:१५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा दिउँसो शितलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको राष्ट्रपतिका सूचना विज्ञ टिका ढकालले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचन समयमै संवैधानिक व्यवस्था अनुसार नै हुनुपर्छ भन्नेमा राष्ट्रपतिको जोड थियो,’ उनले भने, ‘दलहरुले नै बनाएको संविधानको पालना गर्ने दायित्व सरकारको हो ।’

प्रधानमन्त्री देउवाले भने सत्तागठबन्धनका दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय गरिने जवाफ दिएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिव एक घण्टा छलफल भएको थियो ।
पछिल्लो समय स्थानीय तहको निर्वाचनको विषयलाई लिएर दलहरुभित्र फरकफरक मत आएका छन् । सरकारलाई बैशाखमै स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले पनि ताकेता गर्दै आएको छ भने सत्ता गठबन्धनभित्र भने निर्वाचनको मितिको विषयमा फरक फरक प्रस्ताव आएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनको विषयमा दुई कित्ता देखिएको छ । बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने मत केहि नेताहरुले राखेका छन् । तर सरकारले भने निर्वाचनका विषयमा औपचारिक रुपमा केहि बोलेको छैन । सरकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको व्यवस्था अनुसार उपयृुक्त समयमा सरकारले निर्वाचनको मिति तोक्ने बताए ।