१५ बैशाख २०८१, शनिबार
Follow Us

विदेशमा अलपत्र बनाउने दलाललाई कारबाही गर्न मार्सल टोली गठन हुने

नेपालब्रिटेन डट कम्
१३ माघ २०७८, बिहीबार १९:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्।

बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरिक्ष सम्मिलित मार्सल टिम गठन गरेको बताए।

मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरुलाई खोजि खोजि कारबाही गर्ने बताए। मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताए। उनले आउँदो आईतवारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए।

त्यस्तै पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन्। आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरेका छन्।

पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए। पीडितहरुले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरेकाछन्।

पीडितहरुले आर्थिक श्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरुले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरेकाछन्।

संयुक्त अरब इमिरेट्स ९यूएई० का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत हो। लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ। हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार ब्याबसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि ब्याबसायीहरुले मान्छे फिर्ता ल्याउन पनि थालेका छन्।