३१ बैशाख २०८१, सोमबार
Follow Us

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातपछि जनजीवन प्रभावित

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७८, आईतवार ०४:४०

न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा चार वर्षयताकै ठूलो हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ । नोरइस्टर नाम दिइएको आँधी म्यासाचुसेट्समा आईपुग्दा एक लाख भन्दा बढी घरपरिवार बिजुलीविहीन भएका छन् । बोस्टन क्षेत्रमा २ फिटसम्म हिउँ जमेको छ भने न्यूयोर्कका केही भागमा १ फिटसम्म हिउँ पर्न शुरु भैरहेको अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्क, न्यू जर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकाल घोषणा गरिएको छ । स्थानीय समय अनुसार शनिबार बिहान सबेरै शक्तिशाली आँधीले तटीय क्षेत्रमा प्रभाव देखाउन थाल्यो र धेरै राज्यमा बाक्लो हिउँ परेको थियो। ७ करोड ५० लाख मानिस आंधीको प्रभावमा पर्न सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरुले केही ठाउँमा ऐतिहासिक हिमपातको चेतावनी दिएका छन् र समुद्री तटीय क्षेत्र नजिकै बाढीको चेतावनी जारी गरिएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराइएको छ।