१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतसंग वार्ता गर्न राजदूत आचार्य तोकिए संयोजक

नेपालब्रिटेन डट कम्
२१ माघ २०७८, शुक्रबार ०४:४५

लण्डन । भूतपूर्व गोर्खाका मुद्दामा नेपाल सरकारका तर्फबाट बेलायतसँग संवाद गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई जिम्मा दिइएको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भूतपूर्व गोर्खाका मुद्दामा नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्न राजदूत आचार्यलाई निर्देशन दिएका छन्।

राजदूत आचार्यको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र लन्डनस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित वार्ता समिति बनाउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

मन्त्रालयका एक अधिकारीका अनुसार परराष्ट्रले समितिलाई मन्त्रिपरिषदबाटै अनुमोदन गर्ने सोच बनाएको छ।

‘मन्त्रिपरिषदबाटै समितिलाई अनुमोदन गराउने कि भन्नेबारेमा समेत छलफल भइरहेको छ,’ ती अधिकारीले भने।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलार्ई राजदूत नियुक्त गरेकी थिइन्। आचार्य केही सातापछि कार्यभार सम्हाल्न बेलायत जाने तयारीमा छन्। उनले बेलायत उड्नुअघि भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका काठमाडौमा रहेका प्रतिनिधिसँग समेत भेटेर छलफल गर्दैछन्।

परराष्ट्रका अधिकारीका अनुसार मन्त्री खड्काले भूतपूर्व गोर्खाका मुद्दामा बेलायतसँग पहिले आफ्नो तहबाट संवाद गर्न र त्यसपछि त्रिपक्षीय वार्ताका लागि गृहकार्य गर्न भनेका छन्।