२३ बैशाख २०८१, आईतवार
Follow Us

पदाधिकारी चयन गर्दै माओवादी केन्द्र

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७८, आईतवार ०९:२७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ । दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ ।

बैठकमा पदाधिकारी चयन भएपछि स्थानीय निर्वाचनबारे रणनीति बनाउनुका साथै महाधिवेशनले निर्देशन गरेअनुरूप योजना र कार्यनीति बनाइने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले भन्नुभयो, “माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहितको पार्टी संरचना निर्माण गर्नेछ । त्यसको तयारी भइसकेको छ । ” स्थानीय निर्वाचन घोषणाको तयारी भइरहेकाले पनि अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

गत पुस १२–१९ गतेसम्म काठमाडौँमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले २९९ मध्ये २३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो तर पदाधिकारी र स्थायी समिति चयन नगरी महाधिवेशन सम्पन्न गरिएको थियो । विषेश गरी महासचिवमा सहमति हुन नसक्दा महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेको हो । महासचिवमा नेता वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायत नेताको चर्चा महाधिवेशनमै भएको थियो । पुन स्वदेश फर्किसक्नुभएको छ । उहाँहरूमध्ये नेता पुन र शर्माबीच बढी नै चर्चा छ । महाधिवेशनका बेला नेता वर्षमान पुन उपचारका लागि चीनमा हुनुहुन्थ्यो ।

पदाधिकारीको सङ्ख्या विधानमा तोकिएको छैन । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र बाँकी सचिव रहने गरी तयारी भएको छ । नेता गजुरेलले आकाङ्क्षी धेरै भए पनि सहमतिमै पदाधिकारी चयन गरिने बताउनुभयो । आकाङ्क्षीबीच सहमति हुन नसके दोस्रो विकल्पबाट भए पनि महासचिव र पदाधिकारी चयन गरिने भएको छ ।