२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रतिनिधिसभा बैठक स्थगित

नेपालब्रिटेन डट कम्
२५ माघ २०७८, मंगलवार १८:०५

काठमाडौं । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिने भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्न लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन समय केही समय लिन खोजेको बुझिएको छ । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।