ताजा खबर

रुसका लागि जासुसी गरेको आशंकामा बेलायती प्रहरीद्वारा वरिष्ठ अमेरिकी सैनिक पक्राउ

लन्डन । बेलायतको आतंकवादविरोधी प्रहरीले रुससँग सम्बन्धित राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशंकामा अमेरिकी सेनाका एक वरिष्ठ सैनिकलाई पक्राउ गरेको छ।

४१ वर्षीय ती अमेरिकी सैनिकलाई मंगलबार बेलायतको ग्लुसेस्टरनजिकैबाट पक्राउ गरिएको हो।

लन्डनस्थित काउन्टर टेररिज्म पुलिसिङले जारी गरेको विज्ञप्तिअनुसार उनलाई बेलायतको राष्ट्रिय सुरक्षा ऐन २०२३ को दफा १ र दफा ३ अन्तर्गत पक्राउ गरिएको हो।

उक्त ऐनको दफा १ ले गोप्य तथा संरक्षित सूचना प्राप्त गर्ने वा सार्वजनिक गर्ने कार्यलाई समेट्छ भने दफा ३ ले विदेशी गुप्तचर निकायलाई सहयोग गर्ने कार्यलाई अपराध मान्छ।

अनुसन्धानका क्रममा प्रहरीले ग्लुसेस्टरसायरका दुई स्थानमा खानतलासी गरिरहेको छ।

बीबीसीका अनुसार ती सैनिक ग्लुसेस्टरसायरको इन्सवर्थस्थित इम्जिन ब्यारेकमा कार्यरत थिए। उक्त ब्यारेक नेटोको अलाइड र्‍यापिड रेस्पोन्स कोर को मुख्यालय हो।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले यस पक्राउबारे प्रतिक्रिया दिँदै भनेका छन्:

“यो महत्त्वपूर्ण पक्राउ जासुसीसम्बन्धी आरोपसँग जोडिएको छ, जुन अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि अत्यन्त गम्भीर चिन्ताको विषय हो।”

उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै अमेरिकाको राष्ट्रिय सुरक्षा र साझेदार राष्ट्रहरूको सुरक्षालाई खतरामा पार्ने गतिविधि गर्ने व्यक्तिलाई कुनै छुट नदिइने बताए।

काउन्टर टेररिज्म पुलिसिङ लन्डनकी उपसहायक आयुक्त भिकी इभान्सले पक्राउलाई “महत्त्वपूर्ण” भन्दै आरोपहरू गम्भीर रहेको र अनुसन्धान जारी रहेको बताइन्।

नाम सार्वजनिक नगरिएका ती सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन्।

राष्ट्रिय सुरक्षा ऐन २०२३ अन्तर्गत पक्राउ परेकाले प्रहरीले उनलाई आरोप नलगाई अधिकतम १४ दिनसम्म हिरासतमा राख्न सक्छ।

अमेरिकी सेनाको काउन्टर इन्टेलिजेन्स कमान्डका प्रमुख ब्रिगेडियर जनरल सन स्टिन्चनले संवेदनशील सूचनामा पहुँच भएका वरिष्ठ सैनिकमाथि लागेको आरोपले आन्तरिक सुरक्षा जोखिम वास्तविक र निरन्तर रहेको देखाएको बताएका छन्।

उनले कुनै शंकास्पद गतिविधि देखेमा सम्बन्धित स्थानीय प्रतिगुप्तचर कार्यालयमा जानकारी गराउन सबैलाई आग्रह गरेका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम