२ श्रावण २०८२, शुक्रबार
Follow Us

बान्तावा ‘ताल्चा’ लिएर आए

नेपालब्रिटेन डट कम्
२६ माघ २०७८, बुधबार २२:४४

युरोप । प्रवासी भूमिमा बसेर काम लगायत अनेकौं खालका समस्यासंग जुझ्दै साहित्य सृजनामा लाग्नु निक्कै कठिन कुरा छ, तर एकजना सर्जक जो कोरियामा बसेर श्रम गरिरहेका छन् र संगसंगै आफ्नो साहित्यक सृजनालाई पनि मर्न दिएका छैनन् र आफ्नो सृजनाहरु पस्किरहेका छन् । भोजपुरको दुरदराजमा जन्मिएर पाँच बर्षदेखि कोरिया बसिरहेका दिलिप बान्तावा यस्तै एउटा सर्जक हुन् ।

उनले भर्खरै आफ्नो कथा संग्रह “ताल्चा” लिएर आएका छन् । काठमाडौको फिनिक्स बुक्सले प्रकाशित गरेको उक्त संग्रहमा १० वटा कथाहरु समेटिएका छन् ।

कथाहरुको भूगोल किराँती संस्कृति, संस्कार तथा सभ्यतासंग सम्बन्धित छ। कथानकतालाई त्यही भुगोलसंग जोडेर त्यसै वरिपरिका पात्र, प्रवृत्तिहरुसंग संयोजन गरिएको छ।

१० कथाले बोकेका भावहरु यस्ता छन् :

१. कैदी नम्बर ३५४

लाहुरबाट छुट्टिमा आउने लाहुरेसंग स्कुल पढ्दै गरेकी किशोरिको प्रेम सम्बन्धको कथा छ। किशोरिको गाउँमा लाग्ने साकेन्वा/साकेलामा देखभेट भएपछी मौलाएको प्रेम शारिरिक सम्बन्धसम्म पुगे पनि पल्टन फर्किएपछि लाहुरेले किशोरिलाई बिर्सिदिन्छ। यो अवस्थाबाट किशोरीले गर्नुपरेको संघर्षको दौडानमा उनी दस बर्षे जेल जीवन बिताउनुपर्ने मोडमा पुग्छिन्। जेलमा बस्दाको उनको मनस्थिती समाज, प्रेम सम्बन्ध आदिका बारेको परिबर्तित धारणाहरुलाई जोड्ने प्रयत्न गरिएको छ।

२. हल्लावा (नेपालिमा सेहें)

राणा शासन वा आसपासको फ्ल्यासब्याकबाट शुरु भएको यो कथामा पुर्वी पहाडको राई बस्तिमा प्रथाकै रुपमा रहेको लाहुरे संस्कृतिको सानो दृष्य समेटिएको छ। लाहुर पठाउन नचाहने जिम्म्मावाल बाउ र लाहुर गएको छोराको सम्बन्ध, बिश्वयुद्धमा लडेर रित्तो हात फर्किएको लाहुरेको बाँकी जिवनको कष्टकर अध्यायलाई प्रस्तुत गर्न खोजिएको छ।

३. नागरिक

आमाको नामबाट पनि नागरिकता पाउने ब्यबस्था अन्तरिम संविधान-२०६३ ले गर्‍यो। २०७२ को संविधानले पनि त्यसैलाई निरन्तरता दिएको छ। तर के संविधानमा लेखिए जसरी त्यति सजिलै कार्यान्वयन भएको छ त? बाबुको ब्यहोरा अज्ञात भएको अवस्थामा आमाले मात्रै आफ्ना सन्तानलाई नागरिकता दिलाउन कानुनी रुपमा, ब्यबहारिक रुपमा र सामाजिक संस्कारको नाममा कस्तो अड्चनहरु खडा गरिएका छन् साथै नेपालभित्रै जन्मिएर पनि अनागरिक सरह बाँच्नुपर्ने नागरिकता बिहिनहरुको मनस्थिती कस्तो होला? यहि बिषयलाई उठाउने प्रयास गरिएको छ।

४. श्रद्धा

पुर्वी पहाडको युवा र मध्यमाञ्चल (गोरखा) को युवतिका बिच त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा भेट भएपछी शुरु भएको प्रेमयात्रा २०७२ सालको भुकम्पसम्म आईपुग्दा के कसरी अगाडि बढ्यो र यी दुईका बिच साँस्कृतिक सामाजिक पाटाहरु के कसरि अन्तर्घुलित भए भन्ने देखाउन खोजिएको छ।

५. रामप्रसाद

२००७ सालका जननायक रामप्रसाद राईको छिमेकी गाउँको दृष्यबाट शुरु भएको यो कथाको बिबरण पनि २००७ सालको आसपासबाटै शुरु हुन्छ। सामान्य नागरिकहरु हरेक दशकको क्रान्ती वा आन्दोलनमा सहभागी भए पनि त्यो क्रान्ती सम्पन्न भएपछी उनिहरु किन गुमनाम हुन्छन् भन्ने प्रश्न यो कथाले छोडेको/उठाएको छ। क्रान्तिका वास्तविक पहरेदारहरुलाई क्रान्तिले कहिल्यै पनि सम्मान गर्न सकेन भन्ने बिषय प्रस्तुत गर्न खोजिएको छ।

६. सातौँ ईमोजी

स्कुल पढ्दै गरेकी किशोरि माओबादिले अपहरण गरेपछी रहँदा बस्दा माओबादिप्रती प्रभावित भएर बन्दुक भिर्न थालिन्। युद्धमोर्चा मै रहेका एक जनासंग प्रेम सम्बन्धपछि बिबाह बन्धनमा बाँधिए। एउटा लाडाईंको क्रममा उनको जिवनसाथी सहिद भए। केही समयमा शान्ती सम्झौता भयो। पारिवारिक बिच्छेदनले बिक्षिप्त उनी पार्टिमा आएका नया नेता कार्यकर्ताबाट उपेक्षित हुन थाल्छिन्। अधिकांश ईमान्दार लडाकुहरुले भोग्नु परिरहेको यो यथार्थलाई चित्रण गर्ने कोसिस गरिएको छ।

७. आमूल

एउटा सामान्य जीवन यापन गरिरहेको मान्छेलाई गाउँको हर्ताकर्ता भनिएकाहरुको बहुलठ्ठिपनाले प्रहरी चौकिसम्म पुर्‍याईदिन्छ। संयोगबस त्यै बेला माओबादी बिद्रोहिहरुको निशाना सोहि ठाउँमा पर्छ। आक्रमणपछी माओबादिसंगै भागेका ती मान्छे अन्ततः माओबादी युद्धमा सामेल हुनुपर्‍यो। त्यो क्रममा उनले भोग्नुपरेको पारिवारिक बिखण्डन, युद्धका क्रममा भोग्नुपरेका अवस्थाहरु संगै ती जस्तै ईमान्दार लडाकुहरु कसरी क्रान्तिबाट टाढिनुपर्‍यो र फेरि पुरानै सैँधुवाहरु नयाँ अवतारमा अझ प्रचुर क्रान्तिकारी बन्दै गाउँलाई कज्याईरहेछन् भन्ने बिषयलाई प्रस्तुत गर्न खोजिएको छ।

८. चिनो

जातिय छुवाछुतको जगमा बनेको सामाजिक संरचना र त्यही संरचनाभित्र जन्मेको एउटा प्रेम कहानी हो। करिव ५/६ दशक अघिको समाजमा भएको एक दलित युवति र गैर दलित युवा बिचको प्रेम सम्बन्ध र त्यसले निम्त्याएको सामाजिक अवस्थाको चित्रण गर्ने कोसिस गरिएको छ।

९. ताल्चा

बैदेशिक रोजगारिले पारिवारिक सम्बन्धाहरुमा निम्त्याईरहेको बिखन्डनको एउटा सानो हिस्सालाई समेट्न खोजिएको छ। बैदेशीक रोजगारिमा भएकी एक युवतिले आफ्नो पार्टर/श्रीमान/प्रेमिको बिस्वासमा सम्पुर्ण परिश्रमको पैसा पठाउछिन्। तर पैसा पाउने मान्छेले त्यो पैसालाई आफ्नो ब्यक्तिगत प्रयोजनमा प्रयोग गरिदिनाले सम्बन्धमा आईपरेको दरार र दुर्घट्नाको बिषय उठाउन खोजिएको छ।

१०. स्कुल

राईको एउटा बच्चा जसले आफ्नो मातृभाषा मात्रै बोल्दछ। उसले नेपाली सिक्ने नै स्कुलमा हो। तर अशुद्ध बोलेकै कारण शिक्षकहरुबाट नसिहत पाएपछी त्यो बच्चामा परेको मानसिक असरले स्कुलबाट सधैका लागि टाढा पुर्‍याउँछ। यहि सेरोफेरोको कथा समेटिएको छ।

धेरै पढिएको