काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई कडा जवाफ फर्काएकी छन् । नेकपा एकीकृत समाजवादीकै लेट हेडमा झाँक्रीसहित ६ जना नेताहरूलाई कारबाही गरेपछि नेतृले जवाफ फर्काएकी हुन् ।
झाँक्रीले सामाजिक सञ्जालमार्फत माधव नेपालको १९ वर्ष लामो पार्टी प्रमुखको इतिहास र पछिल्लो कारबाहीको निर्णयमाथि गम्भीर प्रश्न उठाएकी छिन् । उनले नेपाललाई लक्षित गर्दै लेखेकी छिन्, ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र ?’
उनले नेपाललाई पार्टीको प्रमुख र त्यसपछि पार्टी प्रमुखलाई नियन्त्रण गर्ने भूमिकामा लामो समय बिताएको स्मरण गराउँदै यो अन्तिम घटनाले उनको इतिहासलाई पुनः बल्झाएको उल्लेख गरेकी छिन् । ‘बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए,’ उनले लेखेकी छिन् ।
झाँक्रीले जीवनको नश्वरता र राजनीतिक जीवनको सार्थकतामाथि पनि दार्शनिक प्रश्न उठाएकी छिन् । ‘जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे । आफ्नै मलामी त कसले पो देख्छ र ?’
झाँक्रीले नेपालको पछिल्लो ‘अन्तिम कर्म’ (कारबाहीको निर्णय) का लागि “हार्दिक धन्यवाद” दिँदै व्यंग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि प्रकट गरेकी छिन् । यद्यपि, पत्रको अन्त्यमा उनले माधव नेपाललाई अभिभावकको रूपमा स्वीकार गर्दै बाँकी जीवनको सुख, परिवारमा शान्ति र सुस्वास्थ्यको शुभकामना दिएकी छिन् । झाँक्रीले एमालेमा फर्किने घोषणा गरेकी थिइन् ।