२१ कार्तिक २०८२, शुक्रबार
Follow Us

शेखर समूहले पुसभित्रै महाधिवेशन गर्न दबाब दिने, देउवा पक्ष अनिर्णित

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८२, शुक्रबार ०६:०८

काठमाडौं । नेपाली कांग्रेसभित्र आसन्न १५ औं महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचलो चुलिँदै गएको छ । पार्टीका नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग छलफल गर्दै पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

विशालनगरमा रहेको सम्पर्क कार्यालयमा भएको यस छलफलले महाधिवेशनको मितिलाई लिएर कोइराला समूहको दबाब थप बढाएको छ । छलफलमा सहभागी रुपन्देहीका सभापति रामकृष्ण खाणले महाधिवेशन कार्यतालिका नै कुराकानीको मुख्य विषय रहेको बताए । उनले भने, ‘उहाँ (शेखर कोइराला) ले सम्पर्क कार्यालयमा केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गर्नुभएको हो । पुसभित्रै नियमित महाधिवेशन हुनुपर्छ भन्ने उनको धारणा छ । हामी पनि त्यही चाहन्छौँ ।’

खाणका अनुसार पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता कोइरालाले जोड दिएका छन् । ‘उनी पनि पुसभित्रै सबै तहको अधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका आउनुपर्छ भन्नेमा हुनुहुँदो रहेछ, हामी पनि सातै तहको अधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भन्नेमा छौँ,’ उनले थपे ।

छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरुङलगायतको उपस्थिति थियो । यसैगरी, मोरङका सभापति डिगबहादुर लिम्बू, रुपन्देहीका सभापति रामकृष्ण खाण, नुवाकोटका सभापति रमेश महत, खोटाङका सभापति विष्णु राई र चितवनका सभापति राजेश्वर खनाललगायत जिल्ला सभापतिहरू सहभागी थिए ।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू उक्त कार्यतालिकामा सहमत देखिएका छैनन् । उनीहरूले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । यसले गर्दा असोज २८ देखि जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको सर्वसम्मत कार्यतालिका आउन सकेको छैन । आज पनि केन्द्रीय समिति बैठक बस्दैछ ।

धेरै पढिएको