२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपालले १ करोड कोभिडविरुद्धको खोप नलिने

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७८, बुधबार १९:३५

लण्डन । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप सरकारले अस्वीकार गरेको छ । अस्वीकार गरिएका खोप मध्ये अस्ट्राजेनेका खोपको मात्रा बढी छ ।

कोभ्याक्सले प्रस्ताव गरेका खोपको म्याद डेढ महिना मात्रै बाँकी रहेको र सो अवधिमा खपत गर्न असम्भव भएकोले अस्वीकार गरिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशक रुद्र मरासिनीले जानकारी दिनुभयो । कोभ्यासले प्रस्ताव गरेका खोपको म्याद २५, दिन १५ दिन र बढीमा डेढ महिना मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

यसअघि नेपालले भूटान र माल्दिभ्सले दिएको खोप स्वीकारेको थियो । भूटानबाट प्राप्त खोपको म्याद एक साता थियो भने माल्दिभ्सबाट प्राप्त खोपको म्याद एक महिना थियो । त्यतिबेला नेपालमा खोपको अभाव र खपत पनि बढी भएकाले कुनै समस्या थिएन ।

तर हाल नेपालसँग पर्याप्त खोप मौज्दात रहेकोले ती खोप लिनुपर्ने बाध्यता नभएको उहाँले बताउनुभयो । हाल नेपालमा ९५ लाख भन्दा बढी खोपको मौज्दात रहेको मरासिनीले बताउनुभयो । यद्यपी कोभ्याक्ससँग सरकारले अलि ढिलो गरेर खोप उपलब्ध गराउदिन आग्रह गर्ने उहाँको भनाई छ ।