२१ असार २०८३, आईतवार
Follow Us

सरकारको १०० दिन अधिनायकवादतर्फ उन्मुख : गेजा वाग्ले

नेपालब्रिटेन संवाददाता
२१ असार २०८३, आईतवार ०३:५९

लण्डन । लेखक तथा राजनीतिक विश्लेषक गेजा वाग्लेले सरकार गठनपछिको १०० दिनको कार्यसम्पादनबारे प्रतिक्रिया दिँदै वर्तमान सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको बताएका छन् ।

लोकतान्त्रिक प्रणालीमा सरकार गठनपछिको पहिलो १०० दिनलाई ‘मधुमास’ का रूपमा लिने परम्परा रहेको उल्लेख गर्दै उनले यस अवधिमा सरकारलाई शङ्काको सुविधा दिइने र खास आलोचना नगर्ने चलन रहेको बताए । सोही लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई सम्मान गर्दै आफूले पनि प्रारम्भिक १०० दिनमा धेरै आलोचनात्मक टिप्पणी नगरेको उनको भनाइ छ । तर १०० दिन पूरा भएसँगै अब सरकारको कार्यशैलीप्रति विषयगत रूपमा आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्ने समय आएको उनले उल्लेख गरेका छन् ।

सरकारको १०० दिनको मूल्याङ्कन गर्दै वाग्लेले सुरुवातमा करिब दुईतिहाइ जनमतका आधारमा बनेको सरकारप्रति जनतामा ठूलो आशा र उत्साह रहे पनि छोटो अवधिमै त्यो आशा आशंका र निराशामा परिणत भएको दाबी गरेका छन् ।

उनका अनुसार सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको देखिए पनि ती नाममा विधिको शासन, कानुन र लोकतान्त्रिक संस्थालाई अवमूल्यन गर्ने प्रवृत्ति देखिन थालेको छ । प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित दलका नेताहरूको सार्वजनिक अभिव्यक्तिले समेत यस्तो प्रवृत्ति पुष्टि गर्ने उनले बताएका छन् ।

वाग्लेले लोकतान्त्रिक प्रणालीको मूल आत्मा जवाफदेहिता भए पनि वर्तमान सरकार त्यसमा कमजोर देखिएको टिप्पणी गरेका छन् । “यदि कुनै प्रणालीको आत्मा नै हरायो भने त्यसको भविष्य के हुन्छ ?” भन्ने प्रश्न उनले उठाएका छन् ।

त्यसैगरी, उनले सरकारको वास्तविक अनुहार सुकुम्बासीहरूको पीडामा झल्किएको उल्लेख गरेका छन् । साथै, राजनीतिक भर्ती केन्द्र र दलीयकरण अन्त्य गर्ने नाममा संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रमा अर्को स्वरूपमा दलीयकरणको नयाँ चक्र सुरु गरिएको आरोप समेत उनले लगाएका छन् ।

धेरै पढिएको