१६ बैशाख २०८१, आईतवार
Follow Us

सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७८, मंगलवार १३:२१

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।

भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको छ । २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सो मुल्यमा २ हजार ८३१.५ केजी सुन युएईबाट नेपाल आएको छ ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मुल्यमा नेपालले ८११.५ केजी सुन खरिद गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ । सो मुल्यमा १ लाख ३४ हजार २९५ किलो चाँदी नेपाल भित्रिएको छ ।

नेपालमा चाँदी चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट आउने गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मुल्यमा २ हजार १ सय केजी सुन नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ केजी सुन विभिन्न देशबाट खरिद गरेको विभागको तथ्याङ्कले देखाउँछ ।