२३ बैशाख २०८१, आईतवार
Follow Us

गगन सहित प्रधानमन्त्री देउवा एमालेसंग आन्तरिक छलफलमा

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७८, बिहीबार ०९:१८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा छलफल भइरहेको छ।

बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दुई नेताले छलफल गरेका हुन्।

दुई नेताले छलफल गर्नुअघि आआफ्ना सांसदहरुसँग आन्तरिक छलफल गरेका थिए। दलीय छलफलपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार दुई नेताबीच शुक्रबार हुने संसद बैठक र एमसीसी स्म्झौताबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत संसद भवनभित्रै रहेका छन्। प्रचण्डले पनि आफ्ना सांसदहरुसँग छलफल गरिरहेका छन्।

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरु संसदभित्र छलफलमा रहँदा एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने संसद भवनबाट बाहिरिइसकेका छन्।

ढिलो गरी संसद भवन प्रवेश गरेका एमाले अध्यक्ष ओलीले संसद भवनबाट बाहिरिएका आफ्ना सांसदहरुलाई फिर्ता बोलाएर आन्तरिक छलफल गरेका थिए। एमालेले पक्षमा मतदान गर्ने निर्णय गरे भने सत्ता गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले विपक्षमा उभिए पनि एमसीसी सम्झौता संसदबाट पारित हुन्छ।

प्रधानमन्त्री देउवा गठबन्धन भत्काएरै भए पनि एमसीसी पारित गर्ने पक्षमा छन्। जसको लागि उने एमाले अध्यक्ष ओलीसँग सहयोग गर्न आग्रह गर्दै आएका छन्। केपी ओलीले भने सत्ता गठबन्धन भत्काएर आफूसँग सहकार्य गर्ने खाका ल्याउन प्रधानमन्त्री देउवालाई भन्दै आएका छन्। पछिल्लो समय एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने शर्तमा देउवालाई सघाउन सकिने बताउँदै आएको छ।