२४ बैशाख २०८१, सोमबार
Follow Us

उपेन्द्रविरुद्ध भट्टराई समूहद्वारा देशैभरि हस्ताक्षर संकलन

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार ०४:२५

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ । पार्टी भित्र ‘सामुहिक तथा समावेशी नेतृत्व’ को आफनो मागलाई अध्यक्ष यादवले सम्वोधन गर्न आनाकानी गरे पछि भट्टराई पक्षधरले देशैभरी हस्ताक्षर संकलन गरेको हो ।

आज देखी काठमाडौंमा सुरु हुने केन्द्रिय कार्यकारिणी समितिको बैठकमा ‘सामुहिक तथा समावेशी नेतृत्व’ को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्वोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर बिद्यानतः २५ प्रतिशत भन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रिय समितिको बैठक बोलाउने योजना अनुसार सो हस्ताक्षर संकलन गरिएको हो ।

‘जसपा नेपालका मुख्यतः तीनवटा ठुला खस आर्य, आदिवासी-जनजाति र मधेसी ‘क्लस्टर’हरुको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोही अनुसार भएको हो भन्ने भुल्नु हुदैन,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘बदलिदो देशको परिस्थीति र पार्टी एकताको पृष्ठभुमीलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामुहिक नेतृत्व पार्टी भित्र हुनुपर्छ भन्ने अजेन्डा राख्दै आएका छौं, त्यसमा सम्बोधन गर्ने काम भईरहेको छैन ।’ उनका अनुसार देशैभरीका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो बिषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ ।

सो बिषयमा केन्द्रीय अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठका बिचमा लाजिम्पाट देखी बालकुमारीसम्म पटक पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरे पछि सो बिषय जसपामा पेचिलो बन्दै गएको छ ।

‘पटक पटक समावेशी र सामुहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकषर्ण गराउँदा पनि सम्वोधन नभए पछि हामीले मुलुकका ७ वटै प्रदेशवाट हस्ताक्षर संकलन सुरु गरेका हौं,’ सिंहले भने, ‘७ वटै प्रदेशका केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रिय समिति बैठक बोलाउन माग गर्ने हाम्रो उदेश्य हो, हस्ताक्षर संकलन उत्साहजनक रुपमा भईरहेको छ ।’ उनका अनुसार सो हस्ताक्षर संकलन बुझाएर केन्द्रिय समिति बैठक बोलाउन बाध्य बनाउने बाहेक अर्को उदेश्य राखिएको छैन् ।