२३ बैशाख २०८१, आईतवार
Follow Us

रुसी सेना राजधानी किभ नजिक

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७८, शनिबार ०७:२५

युक्रेन। रुसले युक्रेनमाथिको आक्रमण तेस्रो दिन पनि जारी राखेको छ। रुसी सेना आक्रमण गर्दै राजधानी किभतर्फ अघि बढिरहेको बीबीसीले जनाएको छ । उनीहरुले किभ नजिकको एयरवेश कब्जा गरेको छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको केही घण्टामै किभमा रुसी सेनाले धावा बोल्ने बताएका छन् ।

किभका नगरप्रमुखले यसअघि नै शहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए । जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि अपील गरेका छन् । रुसी आक्रमण रोक्न बेलायत र मित्र राष्ट्रहरुसँग उनले आग्रह गरेका छन् । तर रुसलाई युद्धका लागि उक्साएको आरोप लागेका अमेरिकालगायतका पश्चिमा मुलुकले भने सैन्य सहयोग नगर्ने बताएका छन् ।

युक्रेनलाई एक्लै युद्धमा छोडेको युक्रेनी राष्ट्रपतिको दुखेसो छ । रुसी राष्ट्रपति भ्दालिमिर पुटिनले युक्रेनको सरकारलाई सत्ताबाट हटाउन युक्रेनी सेनालाई भनेका छन् । रुसको रक्षा गर्न अन्य कुनै विकल्प नरहेको बताउँदै पुटिनले आफ्नो प्रतिरक्षा गरेका छन् ।

पश्चिमा अधिकारीहरुले भने युद्ध जित्न पुटिनले जे पनि गर्न सक्ने बताएका छन् । यता युक्रेन आक्रमणको निन्दा गर्ने संयक्त राष्ट्रसंघको प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ । उता राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले आक्रमणका कारण १ लाख युक्रेनीले आफ्नो थातथलो छाडेको र यो संख्या ५० लाखसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।