३० बैशाख २०८१, आईतवार
Follow Us

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७८, बुधबार ०३:०६

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् । उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो ।

ब्लिनकनले भनेका छन्-रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएकाे छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’

नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो । नेपालको संसदबाट एमसीसी पारित गरेकाे दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।