२३ बैशाख २०८१, आईतवार
Follow Us

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाइने

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७८, आईतवार ०४:१७

सर्लाही । नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएकाे छ । संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

अनेम संघ सर्लाहीकी अध्यक्ष कल्पना कटुवालले २७ फागुनसम्म विभिन्न गतिविधि गरिने बताइन् । संघले मानवसेवा आश्रममा फलफूल वितरण गरेको छ । आइतबार पद्म भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रम लालबन्दीमा बृद्धबृद्धालाई मिष्ठान्न भोजन गराउने संघले जनाएकाे छ ।

सोमबारदेखि बर्थिङ सेन्टरको अनुगमन गर्ने र सरोकावाला समूहसँग अन्तर्क्रिया गर्ने, महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रित महिला सशक्तिकरणका लागि सचेतना कार्यक्रम गर्ने र २७ फागुनमा चन्द्रनगर गाउँपालिकास्थित नारीमैनताल प्रांगणमा अभियानको समीक्षासहित समापन गरिने कटुवालले जानकारी दिइन् ।