३१ बैशाख २०८१, सोमबार
Follow Us

महिला हिंसालाई अन्त्य गर्न कानुन कार्यान्वयन आवश्यक : राज्यमन्त्री खापुङ

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७८, आईतवार १३:२५

काठमाडौं । स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले महिला हिंसालाई अन्त्य गर्ने विषयमा राज्य चिन्तित भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कानुन र विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा खापुङले हक अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भएकोप्रति चिन्ता व्यक्त गरे । ‘मेरो शरीर, मेरो अधिकारः यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ भन्ने नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खापुङले भने, ‘कार्यान्वयनको पक्ष बलियो बनाउन प्रतिवद्धता छु।’

महिलाको लागि कानुन पर्याप्त भएको, तर कानुनकाबारेमा चेतना फैलाउन नसकिएको उनको बुझाइ छ । निर्माण भएका कानुन दूरदराजका महिलाले पनि थाहा पाउने गरी सहज बनाउदै लैजानुपर्ने उनले बताए ।

सुनिश्चित भएका हक अधिकार कानुन र कारबाहीबारे सक्दो प्रचार गर्न सकियो भने महिलाहिंसा कम हुँदै जाने उनले बताए । यसको लागि राज्यलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले भने, ‘नीति निमार्ण गर्ने तहमा महिला सहभागिता हुने अधिकार कानुन र संविधानमा छ । आज राज्यका हरेक स्थानमा महिलाको सशक्त भूमिका देखिएको छ । निजामति, सुरक्षा, राजनीति लगायत सबै स्थानमा महिलाको सहभागिता हुनु राम्रो छ । यसलाई अझै बढाउनु जरुरी छ ।’ कानुन र अधिकार सुनिश्चित गराउने हिसावले नेपाल विश्वमै राम्रो मुलुकमा पर्ने भए पनि कार्याव्यन फितलो भएकोले कार्यान्वयनतर्फ सहयोग गर्न खापुङले सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रजनन स्वास्थ्यसम्बन्धी नाटक देखाइएको थियो भने गीत र कविता वाचनसमेत गरिएको थियो ।