२३ बैशाख २०८१, आईतवार
Follow Us

मिडल्याण्डका नेपालीबीच सदभाव भेला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार २२:१०

लन्डन । बेलायतको नेपाली समुदायमा पछिल्लो समय मिडल्याण्ड क्षेत्रको उपस्थिति जबरजस्त थियो । मिडल्याण्डमा उल्लेख्य संख्यामा सञ्चालन हुने सामाजिक गतिविधि र स्थानीय अभियन्ताहरुको सक्रियताले बेलायतभरकै नेपालीमाझ पनि प्रशस्त चासो, चर्चा बटुल्ने गरेको थियो ।

कोभिड महामारीका कारण केही समय अलिक सुस्ताएका मिडल्याण्ड क्षेत्रका तिनै सामाजिक गतिविधिहरु यतिबेला भने फेरि आफ्नो पुरानो लयमा फर्किन खोज्दैछन् । यसैक्रममा कोभिड महामारीपछि यस क्षेत्रका सामाजिक अभियन्ताहरुको पहिलो जमघट उल्लेख्य उपस्थितिमा सोमबार सम्पन्न भएको छ ।

सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष समेत रहेका लेष्टरवासी अभियन्ता नारायण फुँयालको पहलमा ओकह्यामस्थित एभरेष्ट लाउञ्जमा सिंगो मिडल्याण्डका अभियन्ताहरु भेला भए ।

लेष्टर, नटिङहम, बर्मिङहम, ग्रान्थम, वुल्भरह्यम्पटन, पिटरबरो, डर्बी लगायतबाट झन्डै सय जनाको उपस्थिति रहेको आयोजक अभियन्ता फुँयालले बताए । कोभिड महामारीका कारण लामो अन्तरालमा भेटेका अभियन्ताहरुबीच भएको डेढ घण्टा लामो भलाकुसारीमा उनीहरुले आत्मियतासंगै महामारी अनुभव पनि साटासाट गरे ।

यो जमघटमा सहभागीले न त एनआरएनएका विषयमा बहस छलफल गरे न त अन्य सामाजिक संघसंस्थाका कुरामा नै समय खर्चिए । सबैले पालैपालो आफ्नो परिचय, दैनिकि, भावी योजना, कोभिड महामारीले पारेको प्रभाव लगायत एक अर्कासँग शेयर गरे ।

फरक खालको भेटघाटले सामाजिक सेवाभाव र सकारात्मक सोचका लागि उर्जा भर्ने विश्वास उनीहरुले व्यक्त गरेका थिए ।

‘पहिला नियमित भेट्ने, सँगसंगै सामाजिक कामहरुमा खटिने गर्थ्यौँ । कोभिडले हामीबीच भौतिक दूरी बनाइदिएको थियो । आज धेरैको समयपछि सुखद भेटघाटको अवसर मिल्यो’, आयोजक फुँयालले भने, ‘मेरो आग्रहलाई स्वीकार गरेर उपस्थित हुने सबै मित्रहरुप्रति म आभार प्रकट गर्दछु ।’

जमघटमा महेश अधिकारी, दयानिधि सापकोटा, कोशलेश्वर ढकाल, कृष्ण शर्मा, पवन शर्मा, केशव भण्डारी, विष्णु चालिसे, राजु कंडेल, भिम खनाल, तारा भण्डारी, शम्भु अर्याल, डिलाराम गौतम, रविन्द्र शर्मा, लोकनाथ अधिकारी, डिएन खराल, गोकर्ण हुमागाइं, पदम शाही, चम्पा थापा, पुण्डरी अर्याल, लक्ष्मण गौतम, बरुण भण्डारी, शिव खराल, भिम सारु, गोमा पौडेल, गंगा गौतम, सहितका अभियन्ताहरुसहित मिडल्याण्डका सबै संघसंस्थाका अध्यक्ष र पदाधिकारीको सहभागिता थियो ।