१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७८, शुक्रबार १३:०९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् । आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्। शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् ।

यस क्रममा अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् । उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निणर्य गर्न नहुने तर्क गरेका छन् । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भनेझैं कर्णालीली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।

यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदी गठबन्धन गर्ने जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने संकेत गरेका थिए । लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीयस्तरबाटै गर्न सकिने संकेत गरेका थिए । उनले यदी यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश-१ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निणर्य गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।