९ जेष्ठ २०८१, बुधबार
Follow Us

घरेलु मैदानमा चेल्सी पराजित

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७८, बिहीबार ०४:३८

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे ।

खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाए । तर, ४० औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै चेल्सीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि, ४६ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को जित दिलाए । जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ ।

भिल्लारियल रियाल विजयी
यता, युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो ।खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ ।