२२ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित सबै पालिकामा प्रतिनिधि पठाउने

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७९, शुक्रबार १४:३७

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

उपसमितिहरुमा भातृ संघ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरु रहेको उहाँले बताउनुभयो ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।