२५ बैशाख २०८१, मंगलवार
Follow Us

एमाले प्रवेश गरेका माओवादी उम्मेदवारको मनोनयन कायमै

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७९, शनिबार १५:१४

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेपछि नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ । उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए । तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन् ।

निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ । ‘मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,उनले भने, पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुँदिनँ ।

उनले उम्मेदवारी फिर्ता नलिएकाले यथावत रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । ‘उहाँले उम्मेदवारी फिर्ता लिनु भएको छैन, कानूनी रुपमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिन पाउनेछन्, नेपालले भने, ।

माओवादीका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्ज समेत रहेका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन् । गोसाईकुण्ड गाउँपालिकामा अब नेपाली कांग्रेस, एमाले सहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।