७ जेष्ठ २०८१, सोमबार
Follow Us

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७९, शुक्रबार २१:३८

विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेस मोरङका उपसभापति नागेश कोइराला र उपप्रमुखमा एमालेका शिल्पा निराला कार्की निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई ८ हजार ७१५ मतले पछि पार्दै कोइरालाले प्रमुख पदको माला लगाएका हुन्।

महानगरका १९ वटै वडाबाट कोइरालाले कुल ३० हजार १७० मत प्राप्त गर्दा थापाले २१ हजार ४५५ मत हासिल गरेका छन्।

तेस्रो हुने स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत हात पारेका छन्। यादव यसअघि २०७४ का चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट प्रमुखका दाबेदार थिए। त्यसबेला उनले १४ हजार ९५८ मत ल्याएका थिए। यस पटक जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनाइएपछि उमेश पाखा परेका थिए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका तर्फको यो पहिलो परिणाम हो। काठमाडौं, ललितपुर, पोखरा, वीरगंज र भरतपुर महानगरपालिकामा मत गणना जारी छ।