२० असार २०८१, बुधबार
Follow Us

अढाइ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाउँदै

नेपालब्रिटेन संवाददाता
२९ असार २०७९, बुधबार १४:०५

काठमाडौं । अढाइ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेसँगै रिक्तता तोडिने भएको हो । निर्वाचान शुक्रबार दिउँसो ३ बजे गर्ने गरी सभामुखले मिति र समय निर्धारण गर्नुभएको हो ।

साथै उहाँले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न निर्देशन दिनुभएको थियो । सचिव योगीले सोही नियमावलीको उपनियम १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ ।

२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ चयन हुन सकेको थिएन । मंगलबार राष्ट्रिय सभाको बैठकमा नेता वामदेव गौतमले प्रतिनिधि सभा उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष चयन नभएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तो छ निर्वाचन कार्यक्रम
असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ । त्यस्तै, बिहीबारै दिउँसो साढे १ बजे निर्धारित सयमभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गर्ने निर्वाचन कार्य तालिका छ ।

शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्नुहुनेछ । साथै समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।