२० असार २०८१, बुधबार
Follow Us

आइएमई समूहले सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने, लगानी गर्न आग्रह

नेपालब्रिटेन डट कम्
३० असार २०७९, बिहीबार १२:५८

लन्डन । गैरअवासीय नेपालीहरुको लागि नेपाल सरकारले व्यवस्था गरेको डलर एकाउन्टको सुविधाका विषयमा अन्तरक्रिया गरिएको छ ।

ग्लोबल आईएमई बैकंको आयोजनामा बेलायतको फानब्रोस्थित भिलेज होटलमा बुधबार सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै मात्रै व्यवस्था गरिएको डलर एकाउन्ट विदेशमा बस्ने नेपालीहरुको हितमा रहेको बताए ।

गैरआवासीय नेपालीले डलर खाता खोल्न पाउने सुविधालाई आफ्नो बैंकले तीव्रताका साथ कार्यन्वयनमा ल्याएको जानकारी दिंदै उनले नेपालमा शेयर, उद्योग, जलबिद्युत, केबलकार लगायतका क्षेत्रमा लगानीको ढोका खोलिसकेको बताए ।

नेपालका सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने आफ्नो योजना सुनाउँदै ढकालले यी प्रोजेक्टमा लगानीसहित आबद्ध हुन गैरआवासीय नेपालीलाई आव्हान समेत गरे ।

बैंकका सिइओ रत्न बज्राचार्यले नेपालमा लगानी सम्भाव्यताबारे प्रकाश पार्दै ग्लोबल आइएमई बैंकमार्फत सुरक्षित र नाफामूलक लगानीमा भागिदार बन्न आमन्त्रण गरे । बैंकले यसअघि नै बेलायतको अल्डरसटमा शाखा कार्यालय खोलेर सेवा शुरु गरेको शाखाका प्रतिनिधि अमित चालिसेले जानकारी गराएका थिए ।

कार्यक्रममा बेलायत स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यक्रम निकै महत्वपूणर् र जानकारी मूलक रहेको बताईन् । उनले नेपालमा लगानी बढाउन सम्पूर्णलाई आग्रह गरिन् ।

बेलायतस्थित आइएमई लन्डनका प्रमुख एवं समाजसेवी कमल पौडेल,शाखाका प्रतिनिधि अमित चालिसेले पनि बैंकले दिने सुविधाबारे जानकारी गराएका थिए ।

बरिष्ठ च्यार्टड एकाउन्टेड समीर प्याखुरेलले सञ्चालन रहेको कार्यक्रममा बेलायत स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनाल,लेफिटनेन्ट कर्णेल टोल खाम्चा मगर,विराज भट्ट, शिवजी श्रेष्ठ,लक्ष्य गुरुङ,लगायतले बोलेका थिए ।

औपचारिक कार्यक्रम पश्चात सुरु भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा सहभागीबाट राखिएका प्रश्नहरुको बैंकका पदाधिकारीहरुले जवाफ दिएका थिए।