३० बैशाख २०८१, आईतवार
Follow Us

नेपाल टेलिभिजन: चरम बदमासीको ताजा नमूना

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७९, बुधबार १३:२९

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजनको स्याटेलाइट खरिद प्रक्रियामा व्यापक अनियमितता भएको पाइएको छ । टेलिभिजनको कर्मचारीको मिलेमतोमा २० करोडभन्दा बढी रकमको टेन्डर सूचना सार्वजनिक हुनुअघि नै सम्बन्धित कम्पनीलाई त्यसको लागतसहितको सूचना चुहिएको पाइएपछि अनियमितताको पोल खुलेको हो ।

मूल्यांकन समितिले अन्तिम रूप दिएको मापदण्ड र दररेट टेन्डरको सूचनाअघि नै थाइकमलगायतका केही कम्पनीलाई मेल पुगेको पाइएपछि टेलिभिजनभित्र खैलाबैला मच्चिएको छ ।

नेपाल टेलिभिजनले आफ्नो प्रसारण क्षमतालाई संसारभर पु¥याउने स्याटेलाइट प्रविधिलाई बर्सेनि करोडौं खर्चेर किन्दै आएको छ । योपटक तीन वर्षका लागि एकैपटक टेन्डर हुन लागेको हो ।

त्यससम्बन्धी बोलपत्रको कागजात र आधिकारिक जानकारी पहिले नै विभिन्न कम्पनीलाई गएको सूचना पाएपछि थाइकमले सो प्रक्रिया शंकास्पद भएको भन्दै पुनः टेन्डर गर्न माग गर्दै पत्र पठाएको एक कर्मचारीले जानकारी दिए ।

२६ मे २०२२ मा निमित्त नायब महाप्रबन्धक चिन्तामणि बरालले कार्यकारी अध्यक्ष समिरजंग शाहलाई त्यस्तो जानकारी पठाएको मेलमै थाइकमलाई समेत पठाइएको थियो । कर्मचारीले अन्य कम्पनीमा समेत सूचना लिक भएको हुन सक्ने भन्दै विरोध जनाएका छन् ।

बोलपत्रको गोप्य दस्ताबेज विभिन्न कम्पनीमा पठाउनु गैरकानुनी हुने र यस्तो कार्य अन्तर्राष्ट्रिय नियम कानुन तथा प्रचलनविरुद्ध हुने भन्दै सूचना नै रोक्न उजुरी परेको छ । टेण्डर निकाल्दा राखिएको अधिकतम दररेट १५८८ दशमलव २३ डलर परमेघा हर्ज पहिला नै लिक हुनु अनियमितता र सेटिङधन्दा भएको आरोप कर्मचारीको छ ।

टेलिभिजनको सो निकायले सम्बन्धित कम्पनीलाई गोप्य दस्ताबेज चुहाएको तीन हप्तापछि मात्र टेन्डर सूचना निस्केपछि टेलिभिजनभित्र हल्लाखल्ला मच्चिएको थियो । टेलिभिजनका आमकर्मचारीले यो विषय गैरकानुनी र अक्षम्य अपराध भएको भन्दै त्यस्तो सेटिङ गर्नेमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । कर्मचारीका तीव्र विरोध भएपछि नेतृत्वले केही छलफल गर्न थालेको बताइएको छ ।

नेपाल टेलिभिजनमा कार्यकारी अध्यक्ष शाहको नियुक्तिपछि हाल किशोर पौडेल कानुनी सल्लाहकारका रूपमा पुगेका छन् । कानुनी सल्लाहकार पौडेलले राय दिएपछि व्यवस्थापनले यसबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

टेलिभिजनमा परेको उजुरीमा अनधिकृत रूपमा विभिन्न कम्पनीमा टेन्डरको सूचना पु¥याई गम्भीर क्षति पु¥याउने, अधिकारको चरम दुरुपयोगसमेत हुने र टेलिभिजनमा भ्रष्टाचारलाई बढावा दिने काम भएकाले रोक्न भनिएको छ । उजुरीमा आर्थिक लाभ लिई भ्रष्टाचारमा संलग्न कर्मचारी तथा अधिकारीमाथि छानबिन गरी अनुसन्धानपछि मात्र टेन्डर प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

कर्मचारी स्रोतका अनुसार व्यवस्थापनले चुस्तदुरुस्त हिसाब बुझाउन नसकेको, नयाँ टेन्डरमा कम क्षमता र पहुँच रहेको एसिया स्याट नामक कम्पनीसँग डिल गरेको दाबी गरिएको छ । नयाँ अध्यक्ष भएका कारण शाहलाई टेलिभिजनकै विष्णुराम कार्की, अर्जुन बटालासहितका कर्मचारीले गुमराहमा राखेको गुनासो अन्य कर्मचारीको छ ।

यस्तै, विवादका कारण एक महिनाअघि सो टेलिभिजनमा करिब ४५ मिनेट ब्ल्याक आउटसमेत भई प्रसारण बन्द भएको थियो । उच्च व्यवस्थापनले कानुनी प्रक्रियाअनुसार काम नगर्दा टेलिभिजनको विकास क्रममा धक्का पुगेको भन्दै कर्मचारी युनियनले व्यवस्थापन सुधार्न दबाबसमेत दिँदै आएको छ ।