लण्डन । लण्डनस्थित बर्न्टओक नेपाली समाजले दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा लण्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर एलिसन मूरले बार्नेटमा नेपाली समुदायले विविधता थपेको भन्दै सामाजिक काममा भूतपूर्व गोर्खा लगायत नेपालीहरुको सकृयताको प्रशंसा गरिन् । कोभिड महामारीको बेलामा नेपाली समुदायले गरेको स्वयम्सेवी कार्यहरुको सम्मान गर्दै उनले आफ्नो संस्कृति र सम्पदा जोगाउन समाजले गरिरहेका काम अन्य समुदायका लागि पनि उदाहरणीय रहेको बताइन्।
बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङले पाहुना तथा समाजका सदस्यहरुलाई स्वागत गर्दै कोभिड महामारीका कारण २ वर्ष पछि यसरी प्रत्यक्ष रुपमा भेटघाट गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। उनले प्रवासमा पनि नेपाली भाषा, संस्कृति र चाडबाडको प्रबर्द्धन गर्न समाजले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए। अध्यक्ष गुरुङ्गले समाजमा जोडिएका नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा समाजका गतिविधिहरुमा महत्वपूर्ण योगदान गर्ने राजन फुयाल र श्रीमती श्वेता तिमिल्सिना एवं श्रीमती इन्द्र कुमारी गुरुङ्गलाई खादा ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो। विभिन्न संघसंस्थाहरुले गरेका कामहरुको मूल्यांकन गर्दै यो वर्ष ‘फ्रेन्ड्स अफ सिल्क स्ट्रिम’ लाई प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै समाजका सदस्यहरुका परिवारबाट उच्च शिक्षा हासिल गरेका भाइ बहिनीहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा लण्डन बरो अफ बार्नेटका काउन्सिलर तथा पूर्व उपमेयर लक्ष्य गुरुङ, नवनिर्वाचित काउन्सिलरहरु कमल गुरुङ तथा सारा कन्वे लगायतको उपस्थिति थियो।
कार्यक्रमको पहिलो चरणको संचालन समाजकी महासचिव दिलमाया गुरुङले गरेकी थिइन् भने दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको सन्चालन समाजका उपाध्यक्ष भोला पनेरु तथा हेलिशा गुरुङले आकर्षक ढंगले गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार खमिरजंग गुरुङ तथा सांस्कृतिक सचिव उमेश खडकाले लोकप्रिय गीतहरु गाएका थिए। आमा समूहकी अध्यक्ष मन्जु गुरुङ, सदस्यहरु कमला गुरुङ, बिमला गुरुङ, लिला गुरुङ, छोरीहरु बिनिता गुरुङ, प्रियंका गुरुङ, श्रीमती निर्मल गुरुङ तथा बाल कलाकार उत्कृष्टि पौडेलले रोचक नृत्य प्रदर्शन गरेका थिए।
नेपाल र बेलायतको राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा भर्खरै दिवंगत भएकी महारानी एलिजाबेथ द्वितीय तथा कोभिडका कारण निधन भएका समाजका सदस्य तथा परिवारजनहरुको आत्माको शान्तिको कामना गर्दै एक मिनट मौनधारण गरिएको थियो।
शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका सदस्य तथा पाहुनाहरु गरी करिब २५० जनाको सहभागिता थियो।